३१ बैशाख २०८१, सोमबार
Follow Us

भारतले काँगडादेखि दार्जिलिङसम्म नेपाललाई फिर्ता दिनुपर्छ : शर्मा

नेपालब्रिटेन संवाददाता
४ असार २०७७, बिहीबार ०९:००

काठमाडैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताउनुभएको छ । राष्ट्रिय सभामा नक्सा संशोधनका लागि राखिएको संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेकपाका सचेतक शर्माले अब भारतले सेना हटाउँदै नेपालको भूमि पूर्ण रुपमा फिर्ता दिनुपर्ने बताउनुभयो ।

उहाँले महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भएको र अब अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय नेता, नेपाल विज्ञले पनि त्यो भूमि नेपालको हो भनिरहेका छन् । नेपाललाई फिर्ता गर्न सकिन्छ भनिरहेका छन् । महाकाली नदी कुन हो भन्ने विवाद भएमा अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर भए पनि टुंगो लगाउनुपर्छ ।’

उहँले भारतले नेपाललाई असल मित्र ठान्ने हो भने अंग्रेजले लिएको भूभाग फिर्ता दिनु पर्ने बताउनुभयो । ‘काँगडादेखि दार्जिलिङसम्मको भूभाग फिर्ता दिनुपर्छ, हामीले यी भूभाग मागेका थिएनौं, तर हाम्रो भूभाग त मिच्न हुँदैन नि,’ उहाँले भन्नुभयो ।

सन् १८१६ को सुगौली सन्धि नेपालीले बाध्यताले स्वीकार गर्नुपरेको शर्माको भनाइ थियो । अंग्रेजले सैन्य शक्ति देखाएपछि उक्त सन्धि गर्न त्यतिबेलाका शासक बाध्य भएको उनको भनाइ थियो । सो सन्धिको बुँदा ५ अनुसार महाकाली पूर्व भारतले प्रवेश गर्न नहुने उहाँले बताउनुभयो ।

नेता शर्माले नेपालले अंग्रेजले लुटेको भूमि फिर्ता मागेको नभई सुगौली सन्धिअनुसार महाकाली पश्चिम नआउन भनेर भारतलाई भनेको बताउनुभयो । उहाँले भारत सरकार भूलमा परेको भए वा सेना भूलवश त्यहाँ रहेको भए त्यसलाई सच्याउन आग्रह गर्नुभयो ।