२६ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना भाइरस कमजोर बन्दै गएको विश्लेषण, संक्रमित संख्या ९० लाख नाघ्यो

नेपालब्रिटेन संवाददाता
८ असार २०७७, सोमबार ०५:३७

जुरिच । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संक्रमण तीव्र रूपमा बढिरहेको छ । दैनिक डेढ लाख हाराहारी नयाँ संक्रमित थपिँदै गएका छन् । तर यससँगै यो भाइरस कमजोर हुँदै गएको समेत विश्लेषण भइरहेका छन् । र, यसको पुष्टि मृत्युका घटना कम हुँदै जानु तथा संक्रमितहरू निको हुने दर बढ्दै जानुले समेत गरेको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ । सोमबार बिहानसम्ममा विश्वभर कुल ९० लाख ४४ हजार मानिस संक्रमित भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाउँछ । आइतबार मात्रै विश्वभर १ लाख ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी आइतबार विश्वभर एक दिनमा ३ हजार ३३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । तर एकै दिनमा आइतबार १ लाखभन्दा बढी मानिस निको पनि भइसकेका छन् ।

अहिले विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कुल संख्या पौने ५ लाख पुगेको छ । सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ७० हजार ६६५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो समय विश्वमा सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । तर मृत्यु हुनेको तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेको छ । यसले केही आशा भने जगाएको छ । तर कोरोनाको दोस्रो लहर आउने चेतावनी समेत दिइएको छ ।

विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५३ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिस संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म विश्वमा कुल संक्रमितको ५ प्रतिशतजतिले मात्र ज्यान गुमाएका छन् ।

अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४८ लाख ३८ हजार नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २३ लाख ५६ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ९ लाख ८० हजारभन्दा बढी निको भइसकेका छन् । तर १ लाख २२ हजार २४७ जनाले भने ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा ७ हजार ४१४ जना निको भएका छन् भने २६७ ले ज्यान गुमाएका छन् ।

उता ब्राजिलमा १० लाख ८६ हजारभन्दा बढी मानिसमा सङ्क्रमण देखिएकोमा ५ लाख ७९ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकापछि दोस्रो बढी रहेको छ । त्यहाँ अहिलेसम्म ५० हजार ६५९ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार मात्र त्यहाँ ६०१ जनाको ज्यान गएको छ भने ३६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यसैगरी रूस र भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर त्यहाँ मृत्युदर कम र निको हुने दर बढी छ । रूसमा अहिलेसम्म ५ लाख ८४ हजारभन्दा बढी मानिसमा संक्रमण फैलिएकोमा ३ लाख ३९ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ कोरोनाबाट अहिलेसम्म ८ हजार १११ जनाको मृत्यु भइसकेको छ ।

उता भारतमा पनि अहिलेसम्म ४ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख ३७ हजारभन्दा बढी निको भइसकेका छन् । तर भारतमा अहिलेसम्म कोरोनाबाट रूसको भन्दा पनि बढी १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ ।

अर्को बढी प्रभावित देश बेलायतमा अहिलेसम्म ३ लाख ४ हजार ३३१ जनामा कोरोना संक्रमण देखिएकोमा ४२ हजार ५३२ जनाको मृत्यु भइसकेको छ । त्यहाँ निको हुनेको संख्या भने खुलाइइएको छैन । त्यसपछि विश्वमा बढी मृत्यु हुने देशमा इटाली र स्पेन रहेका छन् । इटालीमा हालसम्म कोरोना संक्रमणका कारण ३४ हजार ६३४ को मृत्यु भएको छ भने स्पेनमा २८ हजार ३२३ को ज्यान गएको छ ।