२२ बैशाख २०८१, शनिबार
Follow Us

युरोपमा कोरोना महामारीको दोस्रो लहर, ११ देशमा संक्रमण पुनः फैलियो

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०४:०७

लन्डन । युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको बताएका हुन् ।

उनका अनुसार अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो क्रममा देखिएको छ । महामारीको दोस्रो लहर आउने सम्भावना देखिएको र सावधानी नअपनाइएमा स्वास्थ्य सेवा अति कमजोर हुने चेतावनी डब्लुएचओले दिएको छ ।

संक्रमण बढ्दो क्रममा देखिनेमा अजरबैजान, काजखस्तान, अल्बानिया, बोसनिया हर्जगोविना, किर्जिकिस्थान, युक्रेन र कोसोभो पनि रहेका छन् । पोल्याण्ड, जर्मनी, स्पेन, इजरायलसहितका देशले विद्यालय, कोइला खानी तथा खाद्य उत्पान उद्योगमा देखिएको संक्रमण नियन्त्रणका लागि तत्काल काम गरेकाले थप फैलिन नपाएको बताइएको छ ।

युरोपमा अहिलेसम्म २६ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख ९५ हजार भन्दा बढीको मृत्यु भएको छ ।