२२ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल आमाको मूर्ति निर्माणका लागि रु ५० लाख सहयोग

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०४:०९

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि रु ५० लाख सहयोग प्राप्त भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

मूर्ति निर्माणका लागि रु एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धताअनुसार तत्काल रु ५० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । प्रतिबद्धताअनुसारको बाँकी रकमसमेत केही महिनाभित्रै उपलब्ध गराइने उहाँले बताउनुभयो ।

मूर्ति निर्माणका लागि लागि भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का लिई निर्माण कार्य शुरु गरेको छ । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेची–काली भ्रमण गरी मूर्ति निर्माणका लागि धातु सङ्कलन गर्नुभएको छ । मूर्ति निर्माणका लागि सुन, चाँदी पितल, तामालगायत धातु सङ्कलन गरिएका छन् ।

मूर्ति निर्माणका लागि भ्रमणका क्रममा उहाँले रु एक करोड, ८४ लाख, ७२ हजार चार रकम सङ्कलन गरेका थिए । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र मूर्ति निर्माणको कार्य पूरा हुने बताइएको छ । अष्टधातुको नेपाल आमाको ७५ फिटको मूर्ति बनेपछि देश विदेशका पर्यटक यसको दर्शनका लागि पुग्ने भएकाले यस क्षेत्रको महिमा बढ्ने भएको छ । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ ।