२३ बैशाख २०८१, आईतवार
Follow Us

पहिरोले म्याग्दीमा १०, कास्कीमा ७ जनाको मृत्यु, मोरङ र झापामा बाढी

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार ०८:०६

काठमाडौं । लगातार वर्षासँगै आएको पहिरोले देशको विभिन्न भागमा धनजनको क्षति पु-याएको छ । पहिरोले म्याग्दीमा १० जनाको मृत्यु भएको छ भने कास्कीमा ७ जनाले ज्यान गुमाएका छन् । यता मोरङ र झापा भने बाढीको डुबानमा परेको छ ।

म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको मृत्यु भएको हो । ढकालका अनुसार धवलागिरी–६, मराङमा बाढी पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुर्‍याएको छ भने वस्ती जोखिममा परेको छ । यसबाट रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको यातायात नै टुटेको छ ।

यता, कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको छ । बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिनुभयो ।

मोरङ र झापा बाढी
लगातारको बर्षाका कारण पूर्वको मोरङ बाढी र डुबानको उच्च जोखिममा परेको छ । मोरङको बिभिन्न १५ स्थानमा सर्तकता अपनाउन नसक्दा यस बर्ष पनि उच्च जोखिमा पर्दै गएका छन् ।

यता झापामा पनि बर्षा थपिदै गर्दा यस पटक पनि बाढी र डुबानको जोखिम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बक्राहा खोलाको कारण यस पटकपनि मोरङका बिभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै सर्तह हुन आग्रह गरेको छ ।

अविरल वर्षा पछि खोलामा पानीको सतह बढेर बस्ती पस्दा झापाका धेरै नागरिकले हरेक वर्ष ज्यान गुमाउँदै आएका छन् भने सयौ परिवार विस्थापित हुने र लाखौंको धनमाल नष्ट हुने गरेको छ । अहिले पनि झापाका ३८ सय घर परिवार बाढीको उच्च जोखिममा छन् । झापाका १५ स्थानीय तहमध्ये १४ वटा तह मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाले समेत झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदी नालाले दमक नगरपालिका बाहेकका पालिकामा प्रभावित पार्ने गरेको जनाएको छ ।