२८ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०६:२४

बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो ।

अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो । तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिनुभयो । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्यसमेत हुनुहुन्थ्यो ।