काठमाडौं । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्य दललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो ।
प्रवक्ता श्रेष्ठले बैठकले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवदेन पेश गर्ने आशा व्यक्त गरे । उनले कार्यदलका लागि समयसीमा नतोकिएको पनि जानकारी दिए । नेता श्रेष्ठले अब कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवदेनको प्रतिक्षा रहेको जानकारी पनि दिए ।
त्यस्तै बैठकमा सरकारका कामहरु प्रभावकारी बनाउने र पार्टीको महाधिवेशनको तयारीका विषयमा पनि छलफल भएको थियो ।