काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ध्यानाकर्षण पत्र लेखेका छन् । यसअघि संसद बैठकमा र भेटेर दिएका सुझाव बेवास्ता गरेको भन्दै थापाले प्रधानमन्त्रीलाई पत्रमार्फत आफ्नो मागप्रति पुनः ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै थापाले सरकारको गैरजिम्मेवारीपनका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै चिन्ता प्रकट गरेका छन् । पत्रमा संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौं लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरिएको छ ।
गत फागुनमै संसदमा कोरोना महामारी नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दा आफूहरूले दिएको पूर्व तयारीको सुझाव सरकारले नसुनेको कारण जोखिम बढेको उनको भनाइ छ । नेता थापाले सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोतसाधन हुँदाहुँदै पनि प्रधानमन्त्रीको अहंकार अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान थालेको समेत उल्लेख गरेका छन् ।
थापाले प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यै गर्ने छूट नभएको पनि उल्लेख गरेका छन् ।
उनले आपतकालीन अवस्थामा मुलुकका ७ सय ६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर काम अघि बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।