३१ बैशाख २०८१, सोमबार
Follow Us

पयर्टन मन्त्री शाही अस्ट्रेलिया प्रस्थान

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार ०५:३२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ ।

मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया जानुभएको हो । उहाँका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया जानुभएको छ । मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताउनुभयो ।

“सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिवलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धिसमेत हो,” मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले राससलाई जानकारी दिनुभयो ।

नेपाल फेस्टिवलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नसक्ने सम्भावना रहेको छ । मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।