१९ बैशाख २०८१, बुधबार
Follow Us

आज हरितालिका तीज पर्व मनाइँदै

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७७, शुक्रबार ०३:२९

काठमाडौं । हिन्दु महिलाहरु आज (शुक्रबार) हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ । व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवना विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । देशका अन्य मठमन्दिरहरुमा पनि खास चहलपहल छैन ।

पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने छ ।