१९ बैशाख २०८१, बुधबार
Follow Us

यूएईमा अझै ३० हजारभन्दा बढी उद्धारको प्रतिक्षामा

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७७, शुक्रबार १०:५७

काठमाडौँ । यूएईबाट घर फर्किने सूचीमा अझै ३० हजारभन्दा बढी नेपाली रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । कोरोना महामारीले गर्दा यूएईको श्रम बजारमा व्यापक प्रभाव परेकोले अझै ठूलो संख्यामा नेपालीहरु फर्काउनु पर्ने अवस्था सिर्जना भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

‘कोरोनाको असरले यूएईबाट सबैभन्दा धेरै नेपालीहरु घर फर्किनुभयो । यो बीचमा केही समय चार्टर्ड उडान समेत रोकिए,’ राजदूत ढकालले भने, ‘भोलि फेरि नेपाल एयरलाइन्सको एउटा उडान हुँदैछ ।

घर फर्किन आवेदन दिनुभएका अझै ३० हजारभन्दा बढी नेपालीहरु दूतावासको सूचीमा हुनुहुन्छ । यहाँ अन्यत्रभन्दा ठूलै संख्या छ ।’ उनले थप चार्टर्ड उडानको लागि पनि दूतावासले पहल गरिरहेको बताए ।

उनका अनुसार समस्या परेको भन्दै दूतावासमा ४२ हजारभन्दा बढी नेपालीले आवेदन दिएका थिए । उनीहरुमध्ये प्राथामिकताका आधारमा करिब १५ हजार नेपालीहरु स्वदेश फर्किसकेको उनले जानकारी दिए ।

कोरोनाको असर यूएईमा व्यापक रुपमा परेको थियो । चलिरहेका कम्पनी, होटल, उद्योग तथा कलकारखाना ठप्प भएपछि थुप्रै नेपालीले रोजगारी गुमाएका थिए । केही कम्पनीहरुले त बेलतबी बिदा बस्न बाध्य पारेका थिए । यूएईमा रहेका अधिकांश नेपाली रोजगारीका लागि गएकोले श्रमबजार प्रभावित हुँदा धेरै नेपाली समस्यामा परेको उनले बताए ।