१९ बैशाख २०८१, बुधबार
Follow Us

१ सेप्टेम्बर देखि नियमित उडान हुने, यात्रुलाई पीसीआर अनिवार्य

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७७, शुक्रबार १४:०७

लण्डन । सरकारले सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशबाट नेपालीलाई ल्याउनको लागि भदौ १६ (१ सेप्टेबर ) गतेबाट नियमित उडान सुरु गर्न लागिएको हो।

नियमित उडानको तालिका पर्यटन मन्त्रालयले बनाउने छ। दैनिक ५ सय यात्रु ल्याउने गरी तयारी सुरु गरिएको हो। उक्त उडानमा आउनेहरुसँग ७२ घण्टा अवधिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

नेपाल आएपछि पनि उनीहरु ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ। नियमित उडान नहुने देशमा दूतावाशले चार्टड उडान गर्नेछन्। पीसीआर टेष्ट गरेका र नगरेका यात्रु एउटै विमानमा ल्याएमा सबैको क्वारेन्टिन खर्च सम्वन्धित एयरलाइन्सले व्यहोर्नु पर्ने पनि खतिवडाले बताए।

‘कोभिड १९’ को पिसीआर टेस्ट उपलब्ध हुने मुलुकहरु, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, नयाँ दिल्ली, युरोप तथा अमेरिकालगायतका देशमा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्ने सरकारले निर्णय गरेको हो ।