२३ बैशाख २०८१, आईतवार
Follow Us

आज गणेश चतुर्थी मनाइँदै

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७७, शनिबार ०३:४९

काठमाडौं । भदौ शुक्ल चतुर्थीका दिन आज गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । शुक्रबार तीजको व्रत लिनेहरुको गणेशको व्रत गर्ने चलन छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गर्दछन् ।

विगत वर्षहरुमा आजको दिन उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा हुने गरेको थियो । कोरोना त्रासले यो पटक सरकारले निषेधाज्ञा जारी गरेकाले नियमित पुजा मात्रै हुँदैछ ।

यो पटक सरकारले घरमै गणेशको पूजा आराधना गर्न आग्रह गरेको छ ।यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि हुने गरेको थियो । यो वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दाबन्दीका कारण रथयात्रा स्थगित गरिएको छ ।

उता, मिथिला क्षेत्रका महिलाले आज चौरचन पर्व मनाउँदै छन् । भाद्र शुक्ल पक्षको चौथीका दिन मनाइने यो पर्वमा व्रतालुले आज दिनभर निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्ने गर्दछन् ।