२३ बैशाख २०८१, आईतवार
Follow Us

देउवाविरुद्ध धर्नाको तयारीमा पौडेल पक्ष

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७७, मंगलवार ०४:४३

काठमाडौँ  । अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूलाई जथाभावी क्रियाशील सदस्यता दिइएको भन्दै संस्थापनइतर पक्ष सभापति शेरबहादुर देउवासँग क्रुद्ध बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्यहरूको सोमबार भएको भर्चुअल बैठकमा त्यस्ता गतिविधिहरूविरुद्ध धर्ना र अनशनसम्मको दबाब दिनुपर्ने माग उठेको छ ।

डडेलधुरा, रसुवा, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा क्रियाशील सदस्यता वितरणमा विधि, विधान र पद्धति मिचिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । क्रियाशील सदस्यता स्थानीय तहका मतदाता हुने र तिनैले चुनेका प्रतिनिधिबाट केन्द्रीय महाधिवेशनका मतदाता चयन हुने भएकाले पनि यसप्रति सबै नेताहरू चनाखो बनेका छन् । ‘सुरुदेखि नै सभापतिजीबाट मनपरी ढंगले विधि, विधान तोड्ने काम गरिएको छ ।
कतिपय जिल्लामा समायोजनको काम सकिएपछि पनि क्रियाशील सदस्यता दिइएको छैन, कतिपयमा अन्य पार्टीबाट प्रवेश गरेको नाममा निर्णय नै नगराई सिधै वितरण गर्ने कार्य भएको छ,’ केसीले भने, ‘अन्य पार्टीबाट बटुलबाटुल गरेर उनीहरूमार्फत कांग्रेसका खाँट्टी कार्यकर्तालाई अल्पमतमा पुर्‍याएर पार्टी कब्जा गर्ने रणनीति लिइएको हो । यसको हामी कडा विरोध गर्छौं ।’

पौडेल पक्षले जिल्ला सभापतिहरूसँगको छलफलपछि केन्द्रीय सदस्यहरूको बैठक राखेको हो । बैठकमा सहभागी केन्द्रीय सदस्य जीवन परियारका अनुसार क्रियाशील सदस्यता वितरणमै विधानको प्रक्रिया मिचिएकाले त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने आवाज मुखरित भएको बताए । सोमबारको बैठकमा प्रथम चरणमा सम्बन्धित जिल्लामा धर्ना बस्ने र त्यसपछि पनि सदस्यता वितरणमा पारदर्शिता नखोजिए अनशनसम्म बस्ने निष्कर्ष निकालेको छ । मंगलबार या बुधबार बस्ने जुम बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिने भएको छ ।