४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा गुटका आधारमा नेताविरुद्ध लेख्न नपाउने

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७७, बिहीबार ११:१३

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले अब गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप गर्न नपाउने भएका छन् । पार्टीभित्र आरोप प्रत्यारोप बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

अध्यक्षद्वयले शुक्रबार बस्ने स्थायी समिति बैठमा पेश गर्न तयार पारेको प्रस्तावमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्ने उल्लेख छ ।

प्रस्तावमा सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने भनिएको छ । ओली–दाहालले तयार पारेको १५ बुँदे प्रस्तावमा आगामी चैत २५ देखि ३० सम्म एकताको महाधिवेशन गर्ने उल्लेख छ ।

एकताको भावना एवम् मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ भने महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक बोलाउने प्रस्तावमा भनिएको छ ।