२९ बैशाख २०८१, शनिबार
Follow Us

नेकपाको महाधिवेशन चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा गर्ने

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७७, शुक्रबार ११:४८

काठमाडौं । पार्टीको महाधिवेशन आउँदो चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौमा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा अध्यक्षद्वयको प्रस्तावमा सदस्यहरुले उठाएका जिज्ञासाको अध्यक्ष दाहालले जवाफ दिएका थिए । बैठकमा उठेका प्रश्नको सम्बोधन गर्नेगरी अध्यक्षद्वयको प्रस्ताव पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए । आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, भीम आचार्य, घनश्याम भूसाल, रघु पन्त, लिलामणि पोखरेल, देव गुरुङ, मातृका यादव र नारायणकाजी श्रेष्ठले प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

एमसीसीलाई अनुमोदन गर्ने निर्णय
सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।