१८ बैशाख २०८१, मंगलवार
Follow Us

एसिड छेप्नेविरुद्ध अध्यायदेश

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार ०४:४३

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा पेस गरेको अध्यादेश स्वीकृत गरी छिट्टै राष्ट्रपति कार्यालय पठाइने बताइएको छ । नयाँ कानुनअनुसार एसिडसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय र १० लाखसम्म जरिवाना तोकिएको छ ।

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । एसिड छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको हो । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ ।

एसिड बिक्रीमा पनि सरकारले कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था छ ।