२२ बैशाख २०८१, शनिबार
Follow Us

‘कोरोनाविरुद्धको खोप आए पनि जनजीवन सामान्य बन्न एक वर्ष लाग्छ’

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७७, शुक्रबार ०५:२१

लन्डन । वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने बताएका छन् । खोप आएपछि महामारी अन्य हुने आशामा विश्व समुदाय रहेका बेला वैज्ञानिकहरुले निराशाजनक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

रोयल सोसाइटी डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकहरुले सार्वजनिक गरेको प्रतिवेदनमा खोप प्रयोगमा आउँदैमा महामारी अन्त्य नहुने उल्लेख छ । कोरोनाको खोप प्रभावकारी प्रमाणित भई प्रयोगमा आउन थाले पनि आउँदो मार्चसम्म जनजीवन सामान्य अवस्था फर्किने सम्भावना नरहेको बैज्ञानिकको भनाइ छ ।

खोप लगाउने प्रक्रिया पूरा हुन ६ महिनादेखि एक वर्षसम्म लाग्ने बैज्ञानिकहरुको भनाइ छ । खोप तयार भइसकेपछि पनि संक्रमण फैलिन नदिन लागू गरिएका प्रतिबन्ध एकैचोटि हटाउन नमिल्ने, क्रमशः कम गर्दै लानुपर्ने सुझाव वैज्ञानिकहरुको छ ।

बेलायत, अमेरिका लगायत देशमा यही वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुवातमा यो क्रम व्यापक हुने अपेक्षा गरिएको छ । अहिले संसारभर दुई सय भन्दा बढी खोप निर्माणको चरणमा छन् । तिमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको चरणमा छन् ।