२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालमै उत्पादित कोरोना भाइरसको औषधिको क्लिनिकल परीक्षण हुने

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७७, शनिबार ०५:१२

काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल परीक्षण हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित ‘फ्याबिपिराभेल’ नामक औषधिको क्लनिकल परीक्षण गर्न लागिएको जानकारी दिएको हो । कोरोनासँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको ‘फ्याबिपिराभेल’ नामक औषधिलाई कोरोना भाइरस संक्रमितको उपचारको लागि पनि तेस्रो चरणको परीक्षण गर्न लागिएको हो ।

औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि परीक्षण गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको हो । यसबाहेक नेपाल मै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल परीक्षण हुने भएको छ । आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप परिषद्ले परीक्षण गर्न लागेको हो ।

परिषदले प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ बाट आयुर्वेदिक औषधिको परीक्षण गर्न लागेको हो । जेठी मधुका साथै पिप्ला, मरिच र सुठोको धुलो मिसिएको आयुर्वेदिक औषधिको परीक्षण हुने भएको हो ।