काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल आज राती सवा आठ बजे यूएईमा शुुरु हुनेछन । समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन् ।
समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो । समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो । समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो ।
समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् । सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी शुुरुवात गरेको छ । शनिबार राति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो ।
आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् ।