२६ बैशाख २०८१, बुधबार
Follow Us

भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानल प्रसारणमा क्लिन फिड

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार १२:०४

सरकारले कात्तिक ७ गते भोलिदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेदेखि क्लिनफीडसहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गर्नुभएको हो । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गतेसम्म रहेकोले त्यस दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न उहाँले आग्रह गर्नुभएको हो ।

२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एक वर्षदेखि क्लिनफीड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेभित्र विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफीड प्रसारण गर्नुपर्नेछ । क्लिनफीड कार्यान्वयनमा आएरनआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्ने पनि मन्त्री गुरुङले स्पष्ट पार्नुभएको छ ।

मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिनफीड लागू भएरनभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ । कात्तिक ८ गतेदेखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनै पनि सेवाप्रदायकलाई कानुनअनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताउनुभयो ।