२२ बैशाख २०८१, शनिबार
Follow Us

म राजीनामा दिन्नँ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७७, बुधबार ०९:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने बताएका हुन् ।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने, ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरी केहीले खोइ त राजीनमा भनेर मागि राखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । उनले कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुगेको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहौं ।’