काठमाडौँ । नेपाली चलचित्र बजारमा अहिले ‘परालको आगो’ को दबदबा देखिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपाः बक्सअफिस’ प्रणालीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ‘परालको आगो’ ले व्यापारका हिसाबले ‘राम नाम सत्य’ लाई पछि पारेको छ ।
वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले शनिबार राति ११ः५९ बजेसम्म ४ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ ।
चलचित्रले हालसम्म १ लाख ४३ हजार ७२४ टिकट बिक्री गर्दै कुल ४ करोड २६ हजार ४ सय ६६ रुपैयाँभन्दा बढी व्यापार गरेको आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।
यता चैत २७ गतेदेखि प्रदर्शनमा रहेको ‘राम नाम सत्य’ ले पनि बक्स अफिसमा सशक्त उपस्थिति कायम राखेको छ । अभिनेता विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रले हालसम्म १ लाख २१ हजार ४०६ टिकट बिक्री गर्दै ३ करोड ४० लाख ८१ हजार ६ सय ९१ रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणालीमार्फत सार्वजनिक गरिएको यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा पारदर्शिता र व्यावसायिकता बढाउन सहयोग पुगेको बताइएको छ । देशभरका सिनेमा हलबाट संकलित विवरणअनुसार दुवै चलचित्रले मिलेर हालसम्म २ लाख ६५ हजारभन्दा बढी टिकट बिक्री गरिसकेका छन् ।