३१ बैशाख २०८१, सोमबार
Follow Us

अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन को हुन् ?

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७७, आईतवार ०२:४०

न्यूयोर्क । जो बाइडन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्न सफल भएका छन् । ७८ वर्षिय बाइडेन नोभम्बर ३ मा भएको निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपति बन्न सफल भएका हुन् ।

जो बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सलभेनियाको स्क्रान्टनमा भएको थियो । उनका बुबा कार बिक्रेता थिए । ५० को दशकमा रोजगारी गुमेपछि उनका बुबा आफ्नो परिवार लिएर छिमेकी राज्य डेलावेयर बसाइँ सरे त्यसबेला बाइडेन १० वर्षका थिए । बाल्यकाल डेलावेयरमा बिताएका बाइडेनले सन् १९६५ मा युनिभर्सिटी अफ डेलावेयरबाट स्नातक उत्तीर्ण गरे । सन् १९६६ मा निलिया हन्टरसँग उनको विवाह भएको थियो । बाइडेन दम्पत्तिबाट तीन सन्तान जन्मिए ।

अध्ययनका लागि न्युयोर्क गएका उनी सिराक्युज युनिभर्सिटीबाट कानूनमा डिग्री लिएका थिए । अध्ययनपछि वकिलका रुपमा काम गर्न डेलावेयर फर्केका उनी त्यतीबेलै देखि नै राजनीतिमा लागेका थिए । न्यु क्यासल काउन्टी परिषदमा १९७० देखि १९७२ सम्म उनले काम समेत गरेका छन् । १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटर चुनिएका थिए ।

त्यसको एक महिना नबित्दै एउटा दुर्घटनामा परी उनकी पत्नी निलिया र एक वर्षीया छोरी नाओमीको मृत्यु भएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । त्यसपछि सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब्ससँग भयो थियो । आफ्नो पहिलो पतिसँग सम्बन्धविच्छेद गरेकी आफूभन्दा ८ वर्ष कान्छी जिलसँग १९७७ मा बाइडेनले विवाह गरे । त्यसपछि ज्याकोब्सबाट १९८१ मा एक छोरीको जन्म भएको थियो ।

उनका जेठी पत्नीतर्फका छोरा बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राखेर अमेरिकाको ४६ औं राष्टपतीको चुनावमा भारी मत दिएर जीत दिलाएका छन् । प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहजरूपमा घुलमिल हुन सक्ने व्यक्तिका रुपमा परिचित छन् ।

सन् १९८८ मै राष्ट्रपतीय चुनावमा बलियो दाबेदार मानिएका बाइडेन बेलायती नेता नील किनोकको भाषण चोरेको आरोप लागेपछि त्यतिबेला उनी पछि हट्नु परेको थियो । बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए । झण्डै ५० वर्ष लामो समय राजनीतिमा बिताएका बाइडेनले आफ्नो जीवनमा ठुल्ठूला पारिवारिक दुखान्त र राजनीतिक आरोहअवरोह झेलेका छन् ।

बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । कडा प्रतिस्पर्धामा राष्ट्रपति डउनल्ड ट्रम्पलाई हराउने क्रममा बाइडेनले केही कीर्तिमान समेत भंग गरेका छन् । ७८ वर्षीय बाइडेन राष्ट्रपति निर्वाचित हुने हालसम्मकै वयोवृद्ध नेता बनेका छन् ।