२८ बैशाख २०८१, शुक्रबार
Follow Us

रामपुर नगरपालिकाद्वारा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार ०४:३९

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले अति विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिन थालेको छ । स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चिताको लागि पालिकाले जिपी कोईराला स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य बीमा गर्न सुरु गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ बाट बजेट विनियोजन गरी कार्यविधि तयार गरेर यस वर्ष देखि कार्यक्रम शुरु गरिएको हो । पहिलो चरणमा १ सय ८ परिवारको बीमा गरिएको नगरपालिकाले जनाएको छ ।

जिपी कोईराला स्वास्थ्य बीमा कार्यक्रमको लागि गत वर्ष ५ लाख र यस वर्ष ५ लाख नगरले बजेट बिनियोजन गरेको छ । यस वर्ष नगरभित्रका दलित तथा विपन्न गरी ४ सय परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रति परिवार हुने एक/एक लाख रुपैयाँको स्वास्थ्य बीमा २०७७ मंसिर १ देखि २०७८ कार्तिक एक गतेसम्म रहने छ ।