काठमाडौं । महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ ।
पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
उनका अनुसार ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले बताए । उनले भने, “भक्तजनलाई समस्या नहोस् भनेर हामीले सबै व्यवस्था मिलाएका छौँ, समस्या परेको ठाउँमा तत्काल टोली पुग्ने छ ।”
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन भएका विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।