२५ बैशाख २०८१, मंगलवार
Follow Us

युरोपमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाई

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७७, आईतवार ०५:१०

लन्डन । युरोपेली देशहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि नियन्त्रणमा उपाय अपनाउन थालिएको हो ।

अहिले युरोपमा १२ भन्दा बढी मुलक पूर्ण लकडाउनको अवस्थामा छन् । अष्ट्रियाले पनि मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ ।

लकडाउन घोषणा गर्दै अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले घर परिवार बाहिरका कसैसँग पनि नभेट्न नागरिकलाई अपिल गरेका छन । अष्ट्रियामा गत शुक्रवार अहिलेसम्मकै उच्च दैनिक संक्रमितको संख्या ९ हजार ५ सय ८६ पुगेको थियो ।

अष्ट्रियामा हालसम्म १ सय ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । संक्रमणकै कारण १ हजार ६ सय ६१ जनाले ज्यान गुमाएका छन् । डिसेम्बरको अन्तिम साता क्रिष्टमस पर्वका लागि केही खुकुलो गर्ने तयारी स्वरुप अहिले युरोपमा कडा लकडाउन लागू गरिएको छ ।