२८ बैशाख २०८१, शुक्रबार
Follow Us

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७७, सोमबार ०३:५४

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ ।

तिहार पर्वको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाई र दिदीबहिनीबिचको सम्वन्धलाई प्रगाढ पार्ने गर्दछ । यसदिन दिदीबहिनीले आफना दाजुभाईको आयु आरोग्य सम्बृद्धिको कामना गर्दै अष्ट चिरञ्जिवीको पूजा गर्दछन् । भातृ प्रेम कि उपमा यमुना र उनका दाजु यमराजलाई आदर्श मानेर दिदीबहिनीले आफ्ना दाजुभाइप्रति सम्मान स्नेह र प्रेम प्रकट गर्ने गरिन्छ ।

पौराणिक तथा अनुसार धर्मलोक र प्रेत लोकका अधिपति बनेका यमराजलाई उनकी बहिनीले आफ्नो घरमा आउन सधै आग्रह गर्छिन् । फुर्सद नभएका यमराजले एकदिन बहिनीको आग्रहलाई मानेर पाँच दिनका लागि आफ्ना सारा काम छाडेर बहिनीको घरमा गए । यमुनाले आफ्ना दाजुलाई सम्मान सत्कार र स्याहार गरिन् । यो देखेर प्रशन्न भएका यमराजले यमुनाले बर मागे अनुसार दिदीबहिनीले लगाइदिएको मखमलीको माला नओइलिएसम्म दाजुभाइलाई मृत्यु लोकमा नलैजाने बरदान दिए ।

यहीबाट दिदीबहिनीले दाजुभाइलाई भाइटिका लगाइदिने परम्पराको शुरुवात भएको मान्यता रही आएको छ । भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई शत्रुले बाधा नपारोस भनि ढोकामा सत्रुको प्रतिक मानेर ओखर फुटाउने गर्दछन । टीकाको बेला दाजुभाइलाइ तेल र दुवोले घेरा लगाएर फुल अक्षता चढाइ पूजा गर्दछन् ।

सप्तरंगी टीका लगाएर मखमली सयपत्रीको माला लगाइदिन्छन् । टीका थापिसकेपछि दाजुभाइले दिदीबहिनीलाई उपहार र दक्षिण दिने गर्दछन् । दिदीबहिनी तथा दाजुभाइ नभएकाले अरुलाई नै दिदीबहिनी तथा दाजुभाइ मानेर पनि टीका लगाउने चलन छ । काठमाडौं उपत्यकामा भने कोही नभएकाले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर पूजाआजा गर्दछन् ।