२२ बैशाख २०८१, शनिबार
Follow Us

महानगरले रोकेपनि खुलामञ्चमा खुवाइयो खाना

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७७, मंगलवार ०९:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । स्वास्थ्य चुनौती र कोरोना संक्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीमले जनाएको छ ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउने विषयमा हाम्रो टीम र महानगरबीच सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफुहरु बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

हाम्रो टीम नेपालले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लागू गरेको लकडाउन पछि खाना खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ ।

असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको महानगरले जनाएको छ । त्यस्तै महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने बताउँदै आएको छ । तर हालसम्म सो व्यवस्था कार्यान्वयन भने भएको छैन ।

खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् ।