२९ बैशाख २०८१, शनिबार
Follow Us

अफगानिस्तानमा अस्ट्रेलियाली सैनिकको ज्यादति !

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७७, शुक्रबार ०४:४०

अस्ट्रेलियाली सैनिकले अफगानिस्तानमा अवैधानिक रुपमा ३९ नागरिकको हत्या गरेको प्रमाण भेटिएको एउटा सैन्य अनुसन्धानले जनाएको छ । अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुव्र्यवहारहरूबारे चार वर्ष लगाएर गरेको छानबिनको प्रतिवेदनमा यस्तो तथ्य फेला परेको हो ।

सन् २ हजार ९ देखि २ हजार १३ सम्म ‘बन्दी, किसान वा गैरसैनिक सर्वसाधारण’को हत्याका घटनामा १९ बहालवाला वा पूर्वसैनिकलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने एडीएफको निष्कर्ष छ । केही अस्ट्रेलियाली सैनिकमा देखिएको अनियन्त्रित योद्धा संस्कारका कारण उनीहरु उक्त अपराधमा संलग्न रहेको एडीएफको भनाइ छ ।

उक्त छानाबिनमा सैन्य न्यायाधीश पल ब्रेरेटनले चार सयभन्दा बढी साक्षीसँग कुरा गरेका थिए । जसका आधारमा कनिष्ठ सैनिकहरूलाई बन्दीलाई गोली हानेर मार्ने अभ्यास गर्न निर्देशन दिइने गरिएको, अपराध लुकाउन मृतकका शवनजिकै हतियार र अन्य सामग्री राखिने गरिएको र क्रुर व्यवहारका सैनिकहरुलाई उत्तेजित पार्ने गरिएको दावी गरिएको प्रमाण भेटिएको छ ।

यसैबीच अस्ट्रेलियाले आफू न्याय सुनिश्चित गर्न प्रतिबद्ध भएको आश्वासन दिएको अफगानिस्तानले जनाएको छ । विभिन्न २३ वटा घटनामा २५ सैनिकहरू प्रत्यक्ष वा सहयोगीका रूपमा गैरकानुनी हत्यामा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।