२० बैशाख २०८१, बिहीबार
Follow Us

मुकेश चौरसिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०७:०९

पर्सा । पर्साका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका अशेश्वर भन्ने अखिलेश प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव चौरसियाको हत्या प्रकारणका फरार मुख्य आरोपी भनिएका विन्दवासिनी गाउँपालिका तीन इटियाही २८ वर्षीय अखिलेशलाई पर्सा प्रहरीले विरगञ्ज २५ औलो सिर्सियाबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार मुकेशमाथि बाँसको भाटा प्रहार गर्ने व्यक्ति अखिलेश देखिएको प्रहरीले जनाएको छ । गत कात्तिक ६ गते नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो ।

विन्दवासिनीको ५ प्रसौनीस्थित सेलर मिलको भवनमा आयोजित कार्यक्रम स्थल बाहिर भएको झडपमा मुकेश चौरसियामाथि आक्रमण भएकोहो । घटनामा घाइते भएका मुकेशको उपचारको क्रममा विरगञ्जस्थित अस्पतालमा मृत्यु भएको थियो । योसँगै चौरसिया हत्या प्रकरणमा चार जना पक्राउ परेका छन् । सो घटनामा सग्लन उत्तम तिवारी, पवन तिवारी र हमिश मियाँ यसअघि नै पक्राउ परिसकेका थिए ।