२४ बैशाख २०८१, सोमबार
Follow Us

केन्द्रीय विधान संशोधनका लागि सुझाव संकलन गर्दै एनआरएनए युके

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७७, बिहीबार ११:३२

लन्डन । गैरआवासीय नेपाली संघ युकेले संघको केन्द्रीय विधान संशोधनका लागि बेलायतस्थित नेपाली समुदायसँग सुझाव माग गरेको छ । गैरआवासीय नेपाली संघको जनवरी अन्तिमसाता हुने विशेष महाधिवेशनमा पेश हुने विधान संशोधनका लागि ५ वटा बुँदामा सुझाव संकलन गरिन लागेको संघका अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् ।

संस्थाको रुपान्तरणका लागि निशुल्क सदस्यता, महाधिवेशन प्रतिनिधिको संख्या, छनौट विधि, प्रकृया र मापदण्ड (रजिष्ट्रेशनको व्यवस्था र आइसीसी सदस्य संख्या निर्धारण र चयन प्रकृया, अनलाइन मतदान प्रकृया, संस्थाको कार्यकाल, कार्यकारिणी समितिको संरचना, महिला, युवा तथा प्रोफेशनलहरुको प्रतिनिधित्व, संस्थालाई थप सुदृढ गर्दै संघको साख बढाउन विधानमा आवश्यक संशोधनको लागि संघका सदस्यले आ–आफ्नो सुझाव दिनसक्ने एनआरएनए युकेले जनाएको छ ।

यसअघि संघले समय सापेक्ष संघको विधानमा परिवर्तनको महसुस गर्दै गैरआवासीय नेपाली संघको विधान २००५ (संशोधन २०१७) लाई संशोधन गर्न पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा १७ सदस्यीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो ।

संस्थालाई दिगो, पारदर्शी र सबैको अपनत्व हुने गरी विधानलाई परिमार्जन गर्न सुझाव संकलन गर्न लागिएको संघको विधान संशोधन सुझाव समितिका उपसंयोजक रामशरण सिमखडाले जनाए । संघले आगामी ७ डिसेम्बरसम्म इमेलमार्फत् सुझाव पठाउन आह्वान गरेको छ ।