लण्डन । नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरी बनाएर ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी शीर्ष ६ को फाइनल राउण्ड पुगेका हुन् ।
बिहीबारको एपिसोडमा सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ बनाएर निर्णायकहरुको मन जितेका थिए ।
प्रतियोगितामा सहभागी कुल ३२ व्यवसायिक सेफहरुमध्ये शीर्ष ६ सम्मको यात्रा गर्न सन्तोष सफल भएका छन् ।
यसअघि सेमिफाइनल राउण्ड पुगेका १० प्रतिस्पर्धीबीच पहिलो चरणको प्रतिस्स्पर्धा गराएर मंगलबार ८ प्रतियोगीलाई सेमिफाइनल लगिएको थियो ।
बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रस्तुति दिएका सन्तोष सिधै फाइनल राउण्ड पुग्न सफल भएका हुन् ।
अन्य ३ प्रतियोगीबीच अर्को चरणको प्रतिस्पर्धा गराएर थप २ लाई फाइनल राउण्ड लगिएको छ ।
प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धापछि १७ डिसेम्वरमा घोषणा हुनेछ ।