२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा नेपाली सैनिकलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७७, शनिबार ०४:४७

लन्डन । बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका हुन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।

विश्वका विभिन्न मुलुकका ३३ क्याडेट ४४ साताको प्रशिक्षणमा सामेल थिए । कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

‘यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हनुपर्छ,’ अवार्ड पाएपछि थापाले भने, ‘यसले मलाई देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए । रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट तालिमका लागि विश्वमै प्रख्यात मानिन्छ । एकेडेमीले सन् १९४७ यता १२० देशका ५ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई तालिम दिइसकेको छ ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए । उनले यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक व्यवस्थापनमा स्नातक पनि गरे । थापा आगामी जनवरीदेखि वेल्सको ब्रेकनमा हुने तीन महिने प्लाटुन कमान्डर ब्याटल कोर्समा सहभागी हुँदैछन् ।

थापाले बेलायती र नेपाली सेनामा धेरै भिन्नता रहेको बताए । ‘संख्यामा ब्रिटिस आर्मी सानो भए पनि कार्यकौशलता प्रभावकारी छ । चेन अफ कमाज्ड राम्रो लाग्यो,’ उनले भने, ‘त्यसो त सीमित श्रोत साधनबीच पनि नेपाली सेनाले विश्वमाझ आफ्नो छवि उच्च राखेको मेरो बुझाइ छ ।’

नेपाली सेनाले विकसित देशका सेनाभन्दा कम नभएको बारम्बार प्रमाणित गरिसकेको ब्रिगेडियर जनरल कुमारबाबु थापा बताउँछन् ।

सोभरिन परेड विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत अन्य कर्मचारी पनि उपस्थित थिए । सो अवसरमा यूएईका राजकुमार शेख मोहम्मद बिन जाइदलगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कुटनीतिज्ञहरु समेत सहभागी थिए ।
– कान्तिपुर