२७ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो थियो- नेकपाका ८३ सांसदले राष्ट्रपति भण्डारीलाई लेखेको पत्र

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार ०६:३१

काठमाडौँ । बुधबार नेकपाका ८३ जना सांसदहरुले राष्ट्रपति विद्यादेवी भन्डारीलाई सांसदको विशेष अधिवेशन बोलाउन माग गर्दै अनुरोध पत्र लेखेका थिए । नेकपाका स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल ८३ जनाको हस्ताक्षरसहित शीतलनिवास पुगेका थिए ।

तर उक्त पत्र राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले दर्ता नगरी सम्पर्कबिहीन भएको स्थायी समिति सदस्य रावलले बताए। आफूहरूको पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शीतल निवासमै बसेका थिए।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको थियो।

उक्त पत्रमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको विषयमा छलफल गर्न जरुरी रहेकाले संसद बैठक बोलाउन माग गरिएको छ।

‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ’ पत्रमा भनिएको छ।