२८ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

नेपालब्रिटेन संवाददाता
३ पुष २०७७, शुक्रबार ०८:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको आज नयाँ बानेश्वरमा बसेको बैठकले अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो ।

गत असारमा अन्त्य गरिएको अधिवेशन पुस अठार भित्र बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता भएपनि सरकारले त्यसको तयारी थालेको छैन । कांग्रेसले सरकारले अधि सारेको संबैधानिक परिषद सम्वन्धी अध्यादेश औपचारिक रुपमै फिर्ता लिन माग गरेको छ ।

अध्यादेश फिर्ता गर्ने निर्णय सत्तारुढ दलले गरेपनि प्रक्रिया अघि नबढेको भन्दै कांग्रेसले संबिधान मिचेर ल्याइएको अध्यादेश प्रक्रियागत रुपमा फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको हो ।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले पनि अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि औपचारिक रुपमा अध्यादेश फिर्ता भएको छैन । कांग्रेस संसदीय दलले सरकार भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न असफल भएको निष्कर्ष निकालेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा पनि सरकारको प्रयास प्रभावकारी नभएको कांग्रेसको ठहर छ । त्यस्तै कांग्रेसले ऊखु किसानलाई तुरुन्त रकम उपलब्ध गराउन र किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरेको छ ।

मोरङमा चन्द नेतृत्वको नेकपा कार्यकर्ताले शिक्षक हत्या गरेको घटनाप्रति कांग्रेसले निन्दा गरेको छ । साथै घटनाका दोषिलाई पक्राउ गरी कारवाही गर्न पनि उसले माग गरेको छ ।