२८ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा बढाइयो सुरक्षा सतर्कता

नेपालब्रिटेन संवाददाता
७ पुष २०७७, मंगलवार ०८:०७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फूटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।

नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेकपा चन्द समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।