२१ श्रावण २०८२, बुधबार
Follow Us

वामदेव र बादल ओली पक्षमा लाग्ने, प्रचण्ड समूह संसदीय दलमा अल्पमतमा पर्ने

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार ०८:५६

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि नेकपा चोइटिएको छ । यतिबेला नेकपामा प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड समूहले आ–आफ्ना गतिविधि अगाडि बढाएका छन् । अझै पनि औपचारिक रूपमा पार्टी विभाजन भएको घोषणा नभएकाले केही नेताहरू खुलेका छैनन् ।

अहिलेसम्म पूर्वएमाले दुई फ्याक भएको छ । एउटा पक्षको नेतृत्व केपी ओली र अर्को पक्षको नेतृत्व प्रचण्डले गरेका छन् । जहाँ माधवकुमार नेपाल पनि समावेश छन् । ओलीलाई पूर्वमाओवादीको सानो समूहले साथ दिएको छ । तर, उनीहरूसँग त्यति जनाधार छैन ।

अहिलेसम्म वामदेव गौतम र रामबहादुर थापा बादल कतै खुलेका छैनन् । वामदेव पूर्वएमाले र बादल पूर्वमाओवादी पक्षका हुन् । उनीहरू ‘पर्ख र हेर’ को अवस्थामा रहे पनि आजै बादलले आफ्नो कित्ता क्लियर गर्ने भएका छन् । गृहमन्त्रीसमेत रहेका बादलले आज प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा एक घन्टा कुराकानी गरेका छन् । सो भेटवार्तापछि बालुवाटारमा खुसियाली छाएको छ ।

स्रोतका अनुसार बादलले प्रचण्ड माधव नेपाल समूहलाई साथ दिने छैनन् । उनी केपी ओली समूहको नेकपामा सामेल हुने मनस्थितिमा पुगेका छन् । मंगलबार भैंसेपाटीस्थित वामदेव गौतमको निवासमा भएको छलफलअनुसार आज बादलले ओलीलाई भेटेका हुन् ।

एक–दुई दिनपछि वामदेव गौतम पनि ओली समूहमै सामेल हुने अड्कलबाजी सुरु भएको छ । आफू निकट रघुवीर महासेठलाई एकदिनमै प्रचण्ड समूहबाट वामदेवले ओली क्याम्पमा पठाएका छन् । महासेठ आज ओली पक्षको प्रदेश २ मा आयोजना हुने प्रशिक्षण भेलामा खटाइएका छन् । वामदेव र बादलले साथ दिएलगत्तै ओली शक्तिशाली बन्ने स्थिति देखिएको छ । यस्तो अवस्थामा प्रचण्ड समूह संसदीय दलमा पनि अल्पमतमा पर्ने सम्भावना बढेको छ । अहिले प्रचण्ड नेपाल समूहसँग ८९ सांसद रहेको दाबी गरिएको छ । ओली पक्षमा ८३ जना रहेको बताइन्छ ।

धेरै पढिएको