२१ श्रावण २०८२, बुधबार
Follow Us

बेलायत र इयुबीच ऐतिहासिक व्यापार सम्झौता

नेपालब्रिटेन डट कम्
९ पुष २०७७, बिहीबार १९:४७

लण्डन । बेलायतले युरोपेली संघ छाडेको झन्डै ११ महिना पछि दुवै पक्षबीच एउटा व्यापार सम्झौतामा सहमति भएको छ ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फन डे लायनले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै त्यसको घोषणा गरेका हुन्।
बेलायत युरोपेली संघबाट सन् २०२० को जनवरी ३१ मा बाहिरिएको थियो, तर बाहिरिनका लागि आवश्यक प्रक्रिया पूरा गर्न ११ महिनाको समय दिइएको थियो । सो संक्रमणकालिन समय सकिन एक साता बाँकी रहँदा विहीबार दिउँसो उक्त सहमति भएको हो ।
ब्रिटिश सरकारले एक विज्ञप्ति जारी गर्दै सन् २०१६ को जनमत संग्रहमा र गत आमनिर्वाचनमा बेलायती जनतासित गरिएको वाचा सो सहमतिमा प्रकट भएको उल्लेख गरेको छ ।
ब्रिटेनको मुख्य विपक्षी दल, लेबर पार्टी, का नेता सर कियर स्टार्मर, ले उनको पार्टीले उक्त सम्झौतालाई स्वीकार गर्ने र त्यसको पक्षमा मतदान गर्ने जनाए ।
तर ब्रिटिश संसदको तेश्रो ठूलो दल, लिबरल डेमोक्र्याट्सले आफ्नो दलले उक्त सम्झौतालाई समर्थन न गर्ने जनाएको छ।
ब्रिटिश तथा युरोपेली संसदले पारित गरे पछि मात्रै उक्त सम्झौता लागू हुने छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेन र युरोपेली संघले हाल इयु र क्यानडा बीच कायम रहेको जस्तो व्यापार सम्झौता गरेको जनाए। जस अनुसार धेरै जसो वस्तुको व्यापारमा कर लगाइंदैन, तर कुखुराको मासु, अन्डा जस्ता उत्पादनमा भने दुवै पक्षले कर लगाउन सक्छन् ।

उनले जनवरी १, २०२१ देखि बेलायतले आफ्ना सबै कुरा आफ्नै नियन्त्रणमा लिने बताए । युरोपेली अदालत र कानूनबाट बेलायत मुक्त भएको र अब बेलायती संसदले बनाउने कानुन र बेलायती अदालतले गर्ने फैसला मात्र बेलायतमा लागू हुने उनले प्रष्ट पारे । ‘बेलायतले चाहे अनुसार को सहमति भएको छ’ उनले दावी गरे ।
युरोपेली संघले ब्रिटेनको जल क्षेत्रमा आफ्ना माझीहरुले पहिले जस्तै माछा मार्न पाउनु पर्ने माग गरेको थियो। तर ब्रिटेनले त्यसको विरोध गर्दै आएको थियो।
बिहीबारको सम्झौता अनुसार आउँदो ५ वर्ष सम्म अहिलेकै जस्तो नियमहरु लागू हुने छन्। त्यस पछि भने ब्रिटिश जल क्षेत्रमा ब्रिटिश माझीहरुले प्राथमिकता पाउने छन्।

ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युरोपेली आयोगकी अध्यक्ष फन डे लायनले उक्त सहमति सन्तुलित, निस्पक्ष र दुई देशका लागि उपयुक्त भएको बताइन् ।

इयुका प्रमुख वार्ताकार मिसेल बार्निएले विगत चार वर्षको धेरै जनाको कडा मिहिनेतपछि सहमति सम्भव भएको बताए । उनले सहमतिपछि आराम मिलेको बताए ।
करिब २ हजार पेज लामो सो सहमतिमा छलफलका लागि क्रिसमसपछि बेलायत तथा युरोपेली संसद बोलाइने छ ।
बेलायत र युरोपेली संघबीचको व्यापार सन् २०१९ को तथ्यांकअनुसार ६६८ अर्ब पाउण्ड बराबरको छ । इयु बेलायतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो।

उक्त सहमतिको आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले स्वागत गरेका छन् भने स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले स्कटल्याण्डका जनताको मत विपरीत बेक्जिट सहमति गरिएको बताएकी छिन् ।

धेरै पढिएको