३० बैशाख २०८१, आईतवार
Follow Us

ओलीभित्रको रोग कतै आफूलाई सर्छ किन भन्ने डर लागेर संघर्षमा उत्रिएका हौं : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
४ माघ २०७७, आईतवार ११:५९

ओलीभित्रको रोग कतै आफूलाई सर्छ किन भन्ने डर लागेर संघर्षमा उत्रिएका हौं : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीको कदमले लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे ।

उनले ओलीभित्रको रोग कतै आफूलाई सर्छ किन भनेर डर लागिरहेको टिप्पणी गर्दै केपी प्रवृत्तिको उपचार गर्नुपर्ने आवश्यक ठानेर संघर्षमा उत्रिएको बताए ।

दाहालले युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश-दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरे । सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुनलागेकाले आफु हाँसेर बस्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीले पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाए । उनले संसद विघटनको मुद्दामा सर्वोच्चले जनताको पक्षमा फैसला गर्ने उल्लेख गरे ।