२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढ्यो

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १८:०८

नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढेको देखिएको छ। भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले बिहीबार सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल १०० मा ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ।

गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष ३३ अंक पाएर ११७औं स्थानमा पुगेको हो। ट्रान्सपरेन्सी इन्टरनेसनले १८० देशमा गरेको सर्वेक्षणमा नेपाल ११७ औं स्थानमा परेको हो।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार डेनमार्क ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा छ। यस्तै, न्युजिल्यान्ड पनि ८८ अंकसहित पहिलो स्थानमा नै रहेको छ। साउथ सुडान र सोमालिया भने १२ अंक प्राप्त गरेर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन्।

दक्षिण एसियाली मुलुकमा भारत ४० अंकसहित ८६औं स्थानमा रहेको छ। यस्तै, भुटान ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ। यसैगरी मालदिभ्स ४३ अंकसहित ७५औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान १६५औं स्थानमा रहेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनको सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ।

ट्रान्सपरेन्सी इन्टरनेसनले सन् १९९५ देखि प्रत्यक वर्ष भ्रष्टाचार अवधारण सूचकांक सार्वजनिक गर्दै आएको छ। नेपाललाई यो सूचीमा सन् २००४ देखि समावेश गरेको हो।