२ श्रावण २०८२, शुक्रबार
Follow Us

ट्रम्प दोषी नरहेको कानुन व्यवसायीको जिकिर

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार ०५:०९

अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नता नरहेको उनका कानुन व्यवसायीहरुले दाबी गरेका छन् । सिनेटमा भइरहेको सुनुवाइका क्रममा ट्रम्पका वकिलहरुले जनवरी छ मा भएको आक्रमणमा उनको संलग्नता नै नरहेको भन्दै बचाउ गरेका हुन् ।

आक्रमणमा ट्रम्पको संलग्नता छ भन्नु गम्भीर झुट बाहेक केही नरहेको उनीहरुको भनाइ छ । वकिल भान डेर वीनले पूर्व राष्ट्रपतिविरुद्ध भइरहेको महाअभियोगको सुनुवाई राजनीतिक रुपमा प्रेरित रहेको बताए । ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा १६ घण्टाको समय पाएको थियो । तर वकिलहरुले चार घण्टा मात्रै बहस गरेका छन् ।

संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । गत नोभेम्बर तीन मा भएको निर्वाचनमा पराजित भएका ट्रम्पले नतिजा स्वीकार गर्न नमानी धाँधली भएको आरोप लगाएका थिए ।

हिंसात्मक विद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

धेरै पढिएको