३० पुष २०८२, बुधबार
Follow Us

आधिकारिकता विवाद: गगन–विश्वप्रकाशको पत्र पुग्यो निर्वाचन आयोग

नेपालब्रिटेन संवाददाता
३० पुष २०८२, बुधबार १२:३७

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । विशेष महाधिवेशन पक्षधरले आफूलाई पार्टीको आधिकारिक पक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको उक्त पत्रमा बहुमत महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा रहेको र विशेष महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व नै वैधानिक हुने उल्लेख छ ।

पत्रमा यसअघिको केन्द्रीय कार्यसमिति भंग भइसकेको पनि दाबी गरिएको छ । विशेष पक्षले पार्टीको विधानअनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर विशेष महाधिवेशन आह्वान गरेको र त्यसबाट चयन हुने नयाँ समिति नै आधिकारिक हुने जिकिर गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् । ‘दुवै पक्षको पत्र प्राप्त भइसकेको छ । पत्र अहिले राजनीतिक शाखामा छ, अध्ययन भइरहेको छ,’ उनले भने ।

यसअघि संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको थियो ।

निष्कासनपछि सभापति देउवाले पनि निर्वाचन आयोगमा पत्र पठाएर विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आफ्नो पक्षलाई आधिकारिक पार्टीको रूपमा मान्यता दिन माग गरेका थिए ।

यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।

सभापति पदमा गगन थापाको एकल मनोनयन दर्ता भइसकेको छ भने महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मनोनयन भएको छ ।

धेरै पढिएको