काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् । हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गरेर विभाजनलाई औपचारिकता दिएको उनको भनाइ छ ।
खतिवडाले काँग्रेसका अधिकतर नेताहरू विभाजनको पक्षमा नरहेको प्रष्ट पारे । यद्यपि, विभाजन रोक्न नसक्नु विडम्बनाको विषय भएको उनले बताए ।
‘यो स्थिति आउनु हुँदैनथ्यो,’ उनले भने, ‘जे भयो, त्यसमा दुवै पक्ष जिम्मेवार छन् ।’ आज पार्टीको केन्द्रीय समिति बैठकमा कारवाहीको निर्णय हुँदा आफूहरू बैठक छोडेर हिँडेको खतिवडाले बताए ।
कारवाहीको प्रस्ताव आउनासाथ आफूसहित चन्द्र भण्डारी पनि बैठकबाट निस्किएको उनले जानकारी दिए । खतिवडाका अनुसार काँग्रेसमा उपस्थितिमा हस्ताक्षर हुने भए पनि निर्णयमा हस्ताक्षर गर्ने प्रचलन नै छैन ।
‘सुरुमा रमेश लेखकले अहिलेसम्मको विकास क्रमबारे ब्रिफिङ गर्नुभयो, सभापतिज्यू हदैसम्म लचक हुँदा पनि कुरा मिल्न नसकेको बताउनुभयो,’ उनले भने, ‘जब कारवाहीको प्रस्ताव आयो, हामी बैठकबाट हिँड्यौँ ।’