४ असार २०८१, सोमबार
Follow Us

हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार १२:१०

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने संसय पैदा भएको बताएका छन् । जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धी नै गुम्ने खतरा सिर्जना भएको बताएका हुन् ।

समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति थप पहल गर्नुपर्ने समय आएको अध्यक्ष दाहालको भनाइ छ । सशस्त्र विद्रोहसँगै सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफुहरुले खेलेको भूमिका युगान्तकारी भएको दाबी समेत अध्यक्ष दाहालले गरे ।

युद्धको परिकल्पनाकारको हैसियतले आफुले उत्पीडित समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालीन विद्रोह उत्पीडित समुदायले नै गरेको उनको भनाइ थियो । पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । पुस्तकमा शहीद, बेपत्ता र घाइते अपाङ्ग ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ ।