१५ चैत्र २०८०, बिहीबार
Follow Us

श्रेष्ठ परिवारद्वारा ओखलढुंगा क्याम्पसमा छात्रवृत्ति स्थापना

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७७, मंगलवार १९:२३

लन्डन । बेलायतमा बस्दै आएका एक सामाजिक अभियन्ता शिवजी श्रेष्ठको परिवारले ओखलढुंगामा एक छात्रवृत्ति अक्षय कोष स्थापना गरिदिएको छ ।

आफ्ना बाबुआमाको नाममा स्थापित ‘होम बहादुर-प्रेम कुमारी श्रेष्ठ ट्रष्ट’ मार्फत् स्वर्गीय दाजुको स्‍मृतिमा ओखलढुंगा क्याम्पसमा कोष स्थापना गरिएको श्रेष्ठले बताए । मंगलबार सरस्वति पूजाको अवसर पारेर ’राधेश्याम श्रेष्ठ स्मृति छात्रवृत्ति’ स्थापना गरिएको उनले जनाए ।

श्रेष्ठका अनुसार विसं. २०४२ सालमा स्थापित ओखलढुंगा क्याम्पसका गरिब तथा जेहेन्दार विद्यार्थीहरुमध्ये प्रत्येक वर्ष एकजनाले छात्रवृत्ति पाउने गरि हाललाई १ लाख २० हजार रुपैयाँको अक्षय कोष खडा गरिएको छ। उक्त कोष मंगलबार ट्रष्टको तर्फबाट केन्द्र श्रेष्ठले क्याम्पस प्रमुख सुमन राजभण्डारीलाइ हस्तान्तरण गरे। कोषको ब्याजबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

सोहि अवसरमा यस वर्षको ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृत्ति’ प्रमाणपत्रसहित रु ११,१११ ट्रष्टको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले बिबिएस तेश्रो बर्षमा अध्ययनरत छात्रा मनिता बस्नेतलाई प्रदान गरेका छन् ।

सोहि अवसरमा पूर्व क्याम्पस प्रमुख नारायण बहादुर सैंजु तथा संचालक समितिका पूर्व अध्यक्ष भैरव बहादुर श्रेष्ठको बिदाइ तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा छात्रवृत्तिका संस्थापक शिवजी श्रेष्ठको सन्देश पढेर सुनाइएको थियो।जसमा उनले रकम कम भएकै कारण क्याम्पस स्थापनाको काम पछि धकेलिंदा एउटा पुस्ताले आफ्नो उच्च शिक्षा हासिल गर्ने अवसर गुमाएको गर्दै आफू जहाँ रहेपनि जन्मदाता, जन्मथलो, विद्यार्जन गरेको थलो भुल्न नहुने उल्लेख गरेका थिए ।

त्यस अवसरमा क्याम्पस प्रमुख सुमन राजभण्डारीले श्रेष्ठ परिवारले यसअघि पनि जिल्लाका स्कुल, अस्पताललाई पुर्‍याएको सहयोगको स्मरण गर्दै छात्रवृत्ति स्थापना गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । क्याम्पसको तर्फबाट सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले श्रेष्ठ परिवारलाई कदरपत्र प्रदान गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य एवम् जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गोविन्द काफ्ले, जिल्ला सशस्त्र प्रहरी बल प्रमुख, स्थानीय नेपाली सेनाका गणका सेनानी, सहसेनानी, स्थानीय कार्यालय प्रमुखहरु, स्थानीय स्कुलहरुका प्रध्यानापकहरु, नगरपालिकाका वडा प्रमुखहरु, शिक्षाप्रेमी एवम् समाजसेवीहरुको उपस्थितिमा विद्यार्थीहरुले सरस्वति बन्दना सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बस्ने शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले केहि समयअघि मात्रै भक्तलाल श्रेष्ठ र भेष कुमारी श्रेष्ठसंग मिलेर ओखलढुंगा जिल्ला अस्पताललाई पोर्टेबल अक्सिजन सामग्री प्रदान गरेका थिए।