४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

दुवै नेकपा शक्ति प्रदर्शन गर्न देश दौडामा

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार ०५:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूह शक्ति प्रदर्शन गर्न देश दौडामा निस्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जानु हुने भएको छ । आफ्नो पक्षको नेकपा मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लाग्नु भएको हो ।

नेकपा प्रदेश–१ को आयोजनामा हुन लागेको जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलगायत नेकपाका शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानलाई सक्रिय गराइएको छ । सबै निकायको समन्वयमा विराटनगरमा हिजोदेखि नै सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

सुरक्षाकर्मीलाई सहयोग गर्ने हिसाबमा त्यत्तिकै संख्यामा स्वयंसेवक पनि खटिएका छन् । आज बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

सवारी साधन तथा पैदल हिँडडुल गर्ने र शंकास्पदमाथि निगरानी एवं चेकजाँच बढाइएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेसँगै विभाजित भएको नेकपाको आधिकारीकताका बारेमा निर्वाचन आयोगले निर्णय गरिनसकेको अवस्थामा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रुपमा छुट्टा छुट्टै भेला र आमसभा गर्दै आएका छन् । दुवै पक्षका नेताहरु आ–आफ्ना कदम ठिक भएको भन्दै नेता कार्यकर्ता तान्न देशव्यापी कार्यक्रमहरु गर्दै आएका छन् ।