२२ बैशाख २०८१, शनिबार
Follow Us

महाअभियोग लगाएर राष्ट्रपतिलाई पदमुक्त गर्न विवेकशीलको माग

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७७, बुधबार ०९:५९

काठमाडौ । विवेकशील साझा पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । त्यस्तै सो पार्टीले पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गर्दै सो पार्टीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।

विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसद्बाट नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने सो पार्टीको विज्ञप्तिमा भनिएको छ । त्यस्तै विज्ञप्तिमा संविधानको रक्षा गर्ने दायित्व ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई सदर गर्दै साथ दिएकाले राष्ट्रपति भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने जनाएको छ ।
अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदलाई सो पार्टीले आग्रह पनि गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट विधिको शासन पुनर्बहाली भई मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको सो पार्टीको धारणा छ ।