४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार ०४:२३

काठमाडौं । केही दिनदेखि उपत्यका बाहिरका कार्यक्रममा व्यस्त रहेका प्रधानमन्त्री केपी ओली आज झापा र मोरङ जाँदैछन् । ओलीले आज बिर्तामोडमा रहेको बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

अस्पताल उदघाटनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, पर्यटनमन्त्री भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेत समेत झापा जाने कार्यक्रम रहेको छ । तीन सय शैय्या को स्वीकृति पाए पनि हाल एक सय मात्रै सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्रीले बिर्तामोड नगरपालिका–७ मा विपन्न ३७ परिवारका लागि निर्माण गरिएको आवासको पनि उदघाटन गर्ने कार्यक्रम छ । अव्यवस्थित रुपमा बसोवास गर्दै आएका विपन्न परिवारका लागि आवास निर्माण गरिएको हो । प्रधानमन्त्रीले उदघाटन गरेपछि नगरपालिकाले आवास समुदायलाई हस्तान्तरण गर्ने बताइएको छ ।

ओली आजै मोरङको उर्लाबारीमा हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम छ ।

सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउन लागिएको हो । प्रधानमन्त्री ओली आइतबार पनि झापा गएका थिए । सोमबार भने उनी पोखराका कार्यक्रममा सहभागी भएका थिए ।