८ जेष्ठ २०८१, मंगलवार
Follow Us

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार १९:०६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रूपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन्।

पिसिआर नेगेटिभवालाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रूपमै आग्रह गरेको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औं वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन्। सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।

सभामा कोभिड–१९ का कारण सिर्जित विषम परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा योगदान गरेको भन्दै नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहलाई प्रमुख वक्ताको रूपमा सहभागी गराएको पाटाले जनाएको छ।

साधारणसभाको औपचारिक समारोहमा पाटाले चारवटा अवार्ड पनि प्रदान गरेको जनाएको छ। पाटाका अनुसार संस्थाले पूर्वपर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड, पाटा अन्तर्राष्ट्रियका सिइओ डा. मारियो हार्डीलाई टुरिजम ट्रेल ब्लेजर’ अवार्ड, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टलाई बेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२०’ अवार्ड र सेफ सन्तोष साहलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०१८’ अवार्ड प्रदान गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ।